लामाचौर तीज महोत्सव सुरु

-


     नयाँ लिपि    
     भाद्र १९ गते २०८१ मा प्रकाशित


पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ ।

महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो ।

३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा मद्दत पुगेको बताए ।

संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । उनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक दिनेश भण्डारी र सञ्चालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरेका थिए ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । दुवैतर्र्फ चार–चार टिमले भाग लिएको प्रतियोगिता मंगलबारदेखि नै सुरु भएको छ । दुवैको फाइनल तीजको दिन भदौ २१ गते हुनेछ ।

दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि सुरु भएको छ । जसमा २० टिमले भाग लिएको कलाकार दीपक खड्काले जनाए । १८ टिमले भाग लिएको अन्तरविद्यालयस्तरीय लोकनृत्य बिहीबारदेखि सुरु हुनेछ ।

बुधबार कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक खड्काले प्रस्तुति दिएर दर्शक नचाएका थिए । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, वसन्त विश्वकर्मा समेत आउने छन् ।
महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुले दर्शक आकर्षित गरेको प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ ।

अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना ९३ टिमलाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।

आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । महोत्सवको मुख्य प्रायोजक फलरस र बानियाँ किराना स्टोर्स लामाचौर हुन् । महोत्सवमा प्रवेश निशुल्क छ ।