लामाचौर भलिबल भोलिदेखि

-


     नयाँ लिपि    
     भाद्र १७ गते २०८१ मा प्रकाशित


पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ ।

मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ ।

मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने हुनेछन् ।

राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवै टिमतर्फ चार–चार टिमले भाग लिएका छन् । दुवैतर्फ फाइनल भदौ २१ गते हुनेछ ।
यसअघि दुवैतर्फ त्रिभुवन आर्मी क्लब र पुरुषमा मणीमुकुन्द क्लब बुटवल आउने भनिए पनि उनीहरुको सहभागिता छैन । पुरुषतर्फ गलकोटलाई ल्याइएको छ ।

तीज अवसरमा आयोजकले लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत यसपालि पनि भलिबल प्रतियोगिता निरन्तरता दिएको हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।

महोत्सव अवसरमा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् ।

तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइने संस्था अध्यक्ष स्वागत सिंह भण्डारीले बताए ।

आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई सम्मान गर्नेछ ।