वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट

-


     नयाँ लिपि    
     भाद्र १५ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।

ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख अतिथि भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताउनुभएको हो । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उहाँको भनाई छ । 

‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी पनि हो । पोखरा पदयात्राको मूलद्वारका रुपमा लिइन्छ । नेपालको पर्यटन उद्योगको थालनी पर्वतारोहण र पदयात्राबाटै भएको हो ।’ उहाँले भन्नुभयो – ‘यस प्रदेशमा दर्जनौं विश्वपरिचित पदमार्ग छन् । प्रख्यात अन्नपूर्ण पदमार्ग, मनासलु ट्रेक लगायतका पदमार्गहरु हाम्रा सम्पति हुन् । जसलाई हामीले जोगाउनुपर्दछ ।’

उहाँले पथ प्रदर्शकले पर्यटकहरूलाई गन्तव्यमा पुर्‍याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको बताउनुभयो । 

माछापुच्छ्रे मोडल ट्रेक, मिलिनियम ट्रेक, धौलागिरी आइसफल ट्रेक, हिडनलेक ट्रेक, कपुचे लेक ट्रेकसहित दर्जनभन्दा बढी पदयात्रा मार्गहरुको खोज तथा प्रवर्द्धन कार्य भएको जानकारी लिन पाउँदा खुशी लागेको बताउँदै उहाँले यसरी नै पदयात्रा क्षेत्रलाई

व्यावसायिक र मर्यादित बनाउँदै आइपरेका चुनौतीहरुलाई सामना गरेर सरोकारवाला पक्ष अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पदयात्राको विकासले घरबास कार्यक्रमलाई सकारात्मक सहयोग पुगेको पनि उहाँको भनाई छ ।  

‘पदयात्राका सहयोगीहरुले हाम्रो संस्कार र चालचलनको प्रतिनिधित्व गर्दछन् । विश्वमाझ हाम्रो चिनारी पर्यटकहरुलाई गरिने व्यवहारबाट प्रतिविम्वित हुन्छन् ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘त्यसैले, पथप्रदर्शकहरुले हाम्रो परिचय दिने हुँदा उहाँहरु सभ्य, सुसंस्कृत हुन जरुरी छ । र, टानले पथ प्रदर्शकहरुलाई आवश्यक तालिम तथा दक्षता अभिवृद्धिका लागि सक्रियता देखाउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु।’