ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुललाई

-


     नयाँ लिपि    
     भाद्र १५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो भने फिस्टेल एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ । द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियागिताको बेष्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेष्ट लिड गिटारिष्टमा प्रतिभा माविका सायूस बज्राचार्य उत्कृष्ट घोषित भए । त्यस्तै, बेष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए । प्रतियोगितामा पब्लिक च्वाईसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाईसमा मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिष्पर्धा गरेका थिए । फाइनल राउण्डमा शनिबार प्रतिष्पर्धी स्कुल व्याण्डहरुले २÷२ वटा गीत प्रस्तुत गरेका थिए । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङले जानकारी दिए । प्रतियोगितामा कुल १९ स्कुल व्याण्ड छनौट भएर प्रतिष्पर्धा गरेका थिए ।

बिजेताहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा(१५ का वडाध्यक्ष तोरणबहादुर बानिया, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)लगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले गीत संगीतलाईपनि पेशा बनाउन सकिने स्थिति रहेको बताउँदै भने,‘गीत, संगीतमापनि भविष्य छ । यसलाईपनि पेशा बनाएर सजिलै जिविकोपार्जन गर्न सकिन्छ । तर त्यसका लागि तपाईंमा कला र रुची हुनुप¥यो ।’

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हो । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको भनाई छ । यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्नेपनि आफूहरुको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए ।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।