बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान (आगलागी भएको तस्विर सहित)

-


     नयाँ लिपि    
     भाद्र १४ गते २०८१ मा प्रकाशित


पोखरा । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगजनी गरेको अभियोग लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशअनुसार शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लागेको थियो।

अनुसन्धानमा उनीहरूले नै बीमावापतको रकम असुल्नका पसलमा आगजनी गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो।    
    
अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउन आगलागी गराएको स्वीकार गरेका थिए।