‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट पोखरामा

-


     नयाँ लिपि    
     भाद्र १४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्र्री’ आइ.एस.एफ.ए वल्र्डकपको छनोट खेल हुँदैछ । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा २८ वटाभन्दा बढी टिम सहभागी हुने अनुमान छ । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने छन् ।

विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने इभेन्ट म्यानेजर राजेश पोखरेलले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५/५ हजार रूपैयाँ पुरस्कार पाउने उनले बताए । ‘छनोट भएकाले पुरस्कार किन राखियो भन्ने पनि धेरैलाई लाग्ला । यो खेल नयाँ हो । यसमा आकर्षण बढाउन र निशुल्क खेल्नुपर्ने र आफ्नै खर्चमा खेल्न जाने परिस्थिति अन्त्य गर्न पुरस्कार राखेका हौँ,’ पोखरेलले भने । पोखराबाट छनोट हुने टिमको काठमाडौंमा हुने बस्ने–खाने खर्च पोखरा स्पोर्टस् इभेन्टले व्यहोर्ने छ ।

काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायत सहरबाट राष्ट्रिय छनोट खेल्ने टिममध्ये तीन वटा टिम अन्तिम छनोटमा पुग्ने छन् । त्यसमध्ये सर्वोत्कृष्ट एउटा टिमले आगामी नोभेम्बर १ र २ मा लेटभियामा हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने छ । ‘११ ए साइडमा नेपालले विश्वकप खेल्ने टाढाको कुरा हो । थ्री भर्सेस थ्रीमा खेल्नु र त्यसमा जित्यो भने निकै गर्वको विषय हुन्छ,’ पोखरेलले भने, ‘विश्वकप भएकाले राज्यले नै अभिभावकत्प लिनुपर्ने तर नगरेपछि खेलप्रेमीले नै गर्ने निधो ग¥र्यौं ।’
पहिलोपटक विश्वकप हुन लागेकाले निजी कम्पनीले चासो दिएको तर भविष्यमा राज्यले नै सक्रियता देखाउँदा राम्रो हुने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले बताए । निजी क्षेत्रले विश्व कपमा प्रतिनिधित्व गर्ने टिम तयार गर्न लागे पनि अखिल नेपाल फुटबल संघसँग सहकार्य गरेको उनको भनाइ छ । ‘नेपालबाट छनोट हुने टिम एक महिना एन्फामै क्लोज क्याम्प बस्छ । भिसामा पनि एन्फाले सहयोग गर्ने कुरा भएको छ,’ उनले भने ।

पोखरा छनोटको पहिलो दिन शनिबार यो खेलका अन्तर्राष्ट्रिय नियमबारे जानकारी गराइने र दोस्रो दिन आइतबार सबै खेल हुने आयोजकले जनाएको छ । पोखरामा हुने छनोट खेलमा ८ लाख रूपैयाँ खर्च हुने अनुमान छ ।

के हो ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल ?
यो दुवै टिममा ३/३ जना भएर खेल्ने फुटबल प्रतियोगिता हो । स्ट्रीट नाम भएपनि यो सडकमा खेलिने खेल भने होइन । सानो र साँघुरो ठाउँमा खेल्न सकिने मान्यताअनुसार यसलाई स्ट्रीट फुटबल भनिएको हो ।

यो खेलमा एउटा टिममा ४ जना खेलाडी हुन्छन् । एकपटकमा ३ जना मैदानमा खेल्छन् भने १ जना वैकल्पिक खेलाडी राखिन्छ । खेलाडी परिवर्तनमा कुनै बन्देज छैन अर्थात् जतिपटक पनि परिवर्तन गर्न पाइन्छ । यो खेल खेलिने मैदान १८ मिटर लम्बाइ (दुई गोल पोष्टको दूरी) र १५ मिटर चौडाइ (गोल पोष्टको एउटाबाट अर्को कुना)को हुन्छ । गोल पोष्ट १.२ मिटरको हुने भएकाले यसमा गोल रक्षक हुँदैनन् ।

खेल ८ मिनेट अवधिको हुन्छ । यसमा ४ नम्बर साइजको बल प्रयोग हुन्छ । फुटबलमा मैदान बाहिर बल गएमा ‘थ्रो–इन’ हुन्छ भने यसमा ‘किक इन’ हुन्छ । ‘किक इन’मा सिधै गोल भएमा त्यसले मान्यता पाउँदैन ।

नियम उल्लंघन सामान्य भएमा जुन टिमले फल गरेको हो त्यसको प्रतिस्पर्धी टिमले बल चलाउन पाउँछ । खेलको क्रममा जानी–जानी नियम उल्लंघन गरेमा वा जानीजानी बल हातले छोएमा खेलाडीले सुन्तला रंगको कार्ड पाउँछ । त्यसपछि खेलाडी एक मिनेट बाहिर बस्नुपर्छ । यदि प्रतिस्पर्धी टिमले एक मिनेट नसकिँदै गोल गरेमा ऊ मैदान छिर्न पाउँछ । खेलमा कुनै गम्भीर गल्ती गरेमा रेफ्रीले कालो कार्ड दिन सक्छन् । कालो कार्ड पाउने खेलाडी प्रतियोगिता नै खेल्न नपाउने गरेर बाहिर बस्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।