ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

-


     नयाँ लिपि    
     भाद्र १४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा भईरहेको दोस्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनौट भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सेमीफाइनल राउण्डबाट सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रगती सेकेण्डरी स्कुल, कान्तिपुर एकेडेमी, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल बाहिरिएका छन् ।

शुक्रबार भएको प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत गुञ्जाउँदा दर्शकको हुटिङ पाएका थिए ।

शनिबार हुने फाईनल प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले २÷२ वटा गीत प्रस्तुत गर्नेछन् । शनिबारको उपाधि भिडन्तमा स्कुल व्याण्डहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गरेका थिए । उनले ईन्टर स्कुल व्याण्ड कम्पिटिसनले पोखराको संगीतको विकासमा सघाउ पुग्ने बताए ।

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष भाई गुरुङले बताए । ‘प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ’–उनले भने । उनले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।

संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले स्वागत र गीत रोज्दा ध्यान दिनुपर्ने कुराहरुबारे संघका पूर्व अध्यक्ष श्यामसुङ तामाङ प्रष्ट्याएका थिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।