नव आर्दशले ‘तिज महोत्सव’ गर्ने

-


     नयाँ लिपि    
     भाद्र ११ गते २०८१ मा प्रकाशित


पोखरा । नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले तीज महोत्सव एंव महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

नव आर्दशले मंगलबार केआईसिंह पुलमा रहेको गार्डेन रेष्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गरि भदौ १९ देखि २१ गते सम्म तीज महोत्सव एंव भलिबल प्रतियोगिता गर्ने जानकारी गराएको हो ।

नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने समाजका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक दिनेश भण्डारी बताए ।

महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगितामा ३ विभागिय टिम सहित ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । महिला टिममा न्यू डायमण्ड स्पोर्टस क्लब,शसस्त्र प्रहरीबल (एफिएफ),नेपाल पुलिस क्लब,नेपाल आर्मी र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्ने छ ।

पुरुषतर्फ ३ विभागिय नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल (एपिएफ),नेपाल पुलिस क्लब,गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवल बीच प्रतिस्पर्धा हुनेछ ।

दुबैतर्फका विजेताले १ लाख ५० हजार १ सय ११ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता महोत्सव उद्धघाटन हुनु अगावै भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेकोे छ समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए ।

महोत्सवको अवसरमा भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक भण्डारीेले बताए ।

राष्ट्रको कला र संस्कृतिको संरक्षणार्थ समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा गर्दे आईरहेको तिज महोत्सवलाई भव्य बनाउन समाजका अध्यक्ष स्वागत सिंह भण्डरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

जसमा १६ उपसमिति रहेका छन । संचारमा दिनेश भण्डारी,खेलकुदमा शंकर केसी,अर्थ संकलनमा बुद्धि बहादुर खत्री,महिला परिचालनमा गीता थापा,तीज महोत्सव संरक्षण कोषमा नवीन भण्डरी,व्यानरमा राजकुमार पौडेल,टिकटमा कमलबहादुर थापा,युवा परिचालनमा सचिन केसी,शिक्षा तथा श्रष्टा सम्मानमा कृष्ण गुरुङ,परियोनामा गुप्तबहादुर केसी,आकस्मिक तथा सरसफाईमा थिरबहादुर थापा,खाजा एवं भान्सामा चन्द्रबहादुर गुरुङ,मञ्च व्यवस्थापनमा प्रेमबहादुर गुरुङ,कार्यालय तथा बजार व्यवस्थापनमा मोहन केसी,समन्वय विशेष तथा महोत्सव अनुगममा मिलन केसी,स्वागत सत्कार एवं सांस्कृतिमा खुसीमान गुरुङ संयोजक चुनिएका छन ।

खेल अवलोकन गर्ने दर्शकका लागि करिब ४ हजार सिट क्षमताको अस्थाई प्याराफिटको व्यवस्था हुनेछ । महोत्सव स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने लामाचौर कप भलिबल हेर्नका लागि पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन खेल हेर्नका २ सय र फाइनल खेलको लागि ३ सयको टिकट शुल्क तिर्न पर्ने आयोजकले बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५५ लाख लाग्ने र उक्त प्रतियोगिताबाट खर्च कटाएर बचत हुन आएको रकमले आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष बृद्धिका लागि थप गर्ने लक्ष्य रहेको आयोजकले बताए ।