सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

-


     नयाँ लिपि    
     भाद्र ८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ ।

चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर काठमाडौं भन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्दै आएका सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु लक्षित गरेर ‘दशैं उत्सव’ कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमको तयारी स्वरुप समितिले शुक्रबार साँझ स्थानिय व्यवसायीसँग छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा दशैं उत्सवसँगै व्यापार प्रवद्र्धनका लागि गरिने कार्यक्रमका लागि सुझाव मागिएको थियो ।

सर्वेश्वर–पराजुली मार्गका व्यवसायलाई ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

समितिले चाँडपर्व लक्षित एक महिने दशैं उत्सव कार्यक्रम गर्न लागेको उनले बताए । सो अवसरमा सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटहरुमा प्रवेश द्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकीझकाउ गरेर दुलहीझैं सजाउने तथा झिलीमिली बत्ती बाल्ने तयारीमा आफूहरु जुटेको अध्यक्ष थापाले जानकारी दिए । त्यसका अलावा समितिले यस वर्ष चाँडपर्वको अवसरमा सपिङ गर्ने ग्राहकलाई बम्पर उपहार योजना सञ्चालन गर्ने भएको छ । जसका लागि सामान खरिदमा कुपन दिईने र चाँडपर्व सकिएपश्चात एक औपचारिक कार्यक्रम गरेर चिठ्ठा खोल्ने योजना रहेको उनले बताए ।

समितिले व्यापार प्रवद्र्धन कार्यक्रमलाई पनि तिव्र बनाउने जनाएको छ । जसका लागि कास्कीसहित आसपासका जिल्लाहरु स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लाहरुमा व्यापार प्रवद्र्धनात्मक सूचना रेडियो, एफएमहरुबाट प्रशारण गर्ने उनले बताए ।

अन्र्तक्रियामा समितिका निवर्तमान अध्यक्ष तथा बालकृष्ण भण्डारी, सल्लाहकारहरु प्रेमप्रसाद सुवेदी, एकनारायण पनेरु, नरहरी अधिकारी, आजिवन सदस्य यादव पोखरेल, व्यवसायी नवराज त्रिपाठीलगायतले व्यापार प्रवद्र्धनका लागि गरिने योजना र कार्यक्रममा आफूहरुको साथ र समर्थन रहने प्रतिबद्धता जनाए ।

समितिले यसअघिपनि पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दाङ्ग, बुटवलहुँदै स्याङ्जाको गल्याङ र वालिङ पुगेर क्यालेन्डर वितरण तथा अन्र्तक्रिया गरेर व्यापार प्रवद्र्धन गरेको थियो ।

सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।