पोखरामा हुने ताया माचा नृत्य प्रतियोगिताको तयारी पुरा

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा भोली ( शनिबार) हुने  ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम तयामचा यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा २८ वटा टोलीको सहभागीता रहने र ती सबै टोलीहरुलाई नाच प्रस्तुतीको समय निर्धारण गरेर बोलाईसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगीता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भोली विहान ८ बजेबाट सुरु हुने छ ।

यसअघि गत साउन २५ गते सहभागी हुने टोलीहरुको प्रस्तुतीको समय गोलाप्रथाबाट निर्धारण गरिएको थियो। नेवा खलः कास्कीको आह्वान तथा नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुने प्रतियोगिताको लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यलयले सहयोग गरेको छ ।

प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १) हजार १ रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगिताको मुख्य प्रायोजक सानुमान राजमान भाडा पसल रहेको छ भने सहसयोजक एविस ईन्जिनियरीङ कन्सल्टेन्सी रहेको संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको अवसरमा तायाः मचा नृत्य प्रतियोगिता गर्न लागिएको हो । परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट आन्तरिक र वाह्य पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्ताहरुलाई यसको महत्व बुझाई यसको निरन्तरताको बोध गराउनु  प्रतियोगिताको मूल उद्देश्य रहेको प्रचार प्रसार सयोंजक अनिशा श्रेष्ठले बताएकी छन् ।