पोखरामा ‘चमेली’ कार्यक्रम हुने

-


     नयाँ लिपि    
     श्रावण १९ गते २०८१ मा प्रकाशित


पोखरा  । हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ ।

‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला, कस्मेटिकको आठ वटा स्टल रहने एकेडेमीकी प्रबन्ध निर्देशक शोभा केसीले जानकारी दिइन् । ‘कुनै सामान किन्न मन लाग्नेले किन्न सक्नुहुन्छ । आइडिया लिन मन लाग्नेले बुझ्न पनि सक्नुहुन्छ,’ उनले भनिन् ।

कार्यक्रममा लैङ्गिक समानता र पहिचान शीर्षकमा बहसमूलक सेसन हुनेछ । त्यसमा अभिनेत्री गौरी मल्ल, नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ र एक जना पुरूष गरेर तीन जनाले आफ्ना अनुभव र विचार राख्ने छन् । उक्त बहसको सहजीकरण नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले गर्ने छिन् ।

रेडियन्ट स्टाइल्स बाइ शोभा केसी र ब्राइडल वेयर डिजाइन गरेर दुई फरक फेसन डिजाइन प्रदर्शन पनि हुनेछ । साँझ हार्मेनी पोखराको सांगीतिक प्रस्तुतिपछि कार्यक्रम समापन हुने प्रबन्ध निर्देशक केसीले जानकारी दिइन् । तीजमा महिलाहरूले दर नै खानुपर्छ, नाच्छुपर्छ भन्दा पनि उद्यमशीलता र महिला सशक्तिकरणलाई जोड दिएर कार्यक्रम गरेको उनको भनाइ छ । ‘यो महिलाहरूको उत्सव बनाउन खोजेका हौँ जहाँ महिलाका समस्याबारे बहस होस्, महिलाका उत्पादनलाई प्रोत्साहन गरेर उद्यमशीलतामा प्रेरण मिलोस् भन्ने हो,’ उनले भनिन् ।

कार्यक्रममा महिलाहरूको स्वास्थ्य परीक्षण र काउन्सिलिङ गरिने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि १२ लाख रूपैयाँ खर्च हुने अनुमान छ । एकेडेमीले आयोजना गरेको कार्यक्रममा जोन्टा क्लब अफ पोखराले सहकार्य गरेको छ । आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी पोखरा सन् २०१२ मा खुलेको एअर होस्टेस तालिम केन्द्र हो ।