आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ : प्रदेश प्रमुख भट्ट

-


     नयाँ लिपि    
     श्रावण १८ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताएका छन ।

मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताए । 

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०/८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गरेकी थिईन ।  

टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो ।

‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’

उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने सुनाए ।

राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उनको भनाई छ ।

टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी थियो ।