मानव बेचबिखन कम गर्न सचेतना

-


     नयाँ लिपि    
     श्रावण १६ गते २०८१ मा प्रकाशित


पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ ।

पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत सहभागी थिए ।

कार्यक्रममा सम्पदाका निवर्तमान अध्यक्ष सुनिल पाण्डेले संस्थाले विभिन्न प्रकारका सम्पदा संरक्षण, राष्ट्रिय अखण्डता, मानवअधिकार र मानवताका लागि काम गर्दै आएको जनाए । उनले भने, ‘मानव बेचबिखन जस्तो अपराधलाई शून्य बनाउनु जरुरी छ । वैदेशिक रोजगारीका नाममा अनेक रुपमा मानव बेचबिखन भइरहेको छ ।’

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका उपाध्यक्ष विणुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमाम वाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, सम्पदाकी सचिव विन्देश्वरी बराल लगायतले बोलेका थिए ।