बन्दिपुरको ‘रक गार्डेन’ अलपत्र अवस्थामा

-


     सुरज श्रेष्ठ    
     श्रावण १४ गते २०८१ मा प्रकाशित


तनहुँ । बन्दिपुर गाउँपालिकामा करौडो रकम खर्चेर बनाउन सुरु गरेको रक गार्डेन अहिले अलपत्र अवस्थामा रहेको छ । पृथ्वी राजमार्गमा रहेको डुम्रे बजार भन्दा केहि माथि रहेको उक्त रक गार्डेन लगभग ५ वर्ष बितिसक्दा पनि निर्माणको कार्य पुनः सुरु हुन सकेको छैन ।

बन्दिपुर गाउँपालिका वडा १ मा निमार्ण सुरु भएको उक्त गार्डेन अहिले लगभग बेवारिसे अवस्था छ ।
उक्त गार्डेनलाई पुनः सुरु गर्नको लागि न त बन्दिपुर गाउँपालिकाले चासो दिएको छ । नत निर्माण जिम्मा लिएको नयाँ शहरी आयोजनाले नै ।

रक गार्डेन बनाउने ठेक्का पाएका एभरेष्ट निर्माण सप्लार्यास प्रा.लि का ठेकेदार प्रेम रानाले काम गर्नु नगर्नु भनेर पत्र थम्याई दिएको कारण आफुले काम रोकेको बताए । उनले भने अनुसार काम सकिन १०/१५ प्रतिशत मात्र बाँकी रहेको छ । केहि बेमान गर्ने मान्छेले स्थानीय सामाग्री प्रयोग भयो भन्दै प्रतिशोधको भावनाले अख्तियारमा मुद्धा हाल्दिएको कारण आयोजना रोकिएको रानाले सुनाए । उक्त गार्डेनको विषयमा अख्तियारमा नयाँ शहरीलाई मुद्धा परे पछि कि हुन्न भनेर फैसला गर्न पर्छ कि निर्माण कार्यलाई अघि बढाउन अनुमति दिनु पर्छ ।”उनले भने । निर्माणको लागि उनलाई दिएको समय सकिएका कारण अब उनी स्वयंम निर्माणको कार्यलाई कसरी अघि बढाउने र के गर्ने भन्ने अन्योलमा छ ।

बन्दिपुर गाउँपालिका १ अन्तरगत रहेको रक गार्डेन लगभग २० रोपनी क्षेत्रफलमा फैलिएको छ । रक गार्डेन भएको स्थानबाट डुम्रेबजार,बिमलनगर भन्सार लगायतका ठाउँहरु देख्न सकिन्छ । शान्त ठाउँमा भएको उक्त गार्डेन निर्माण भए स्थानिय तथा बाह्य पर्यटकको भुल्ने स्थान हुनेछ ।

बेवारिसे अवस्थामा रहेको रक गार्डेनको विषयमा बन्दिपुर गाँउपालिकाका अध्यक्ष सुरेन्द्र थापा संग बुझदाँ उनले त्यस ठाउँमा अहिले सम्म नपुगेको बताए । ‘म आउनु भन्दा पहिला नै यो योजना सुरु भएको हुनाले के कस्तो भयो भन्ने मलाई जानकारी भएन । अब के रहेछ बुझछु ।’ थापाले भने ।

नयाँ शहरी विकास आयोजनाका डुम्रे–भन्सार इकाईका निमितm प्रमुख अभिषेक अधिकारी काठमाडौमा काम विशेषले गएका बताए । सोही अफिसका सुचना अधिकृत शान्ति शर्मालाई यस विषयमा बुझन फोन गर्दा बिरामी भएर घरमै रहेको जानकारी दिइन ।

नेपाल सरकारको आ.व.२०६७/६८ को नीति तथा कार्यक्रम अनुसार मध्य पहाडी क्षेत्रमा आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच अनुसार नयाँ शहर योजना संचालनमा ल्याएको थियो । नेपाल सरकारको नयाँ शहरहरुको निर्माण र विकास गर्ने उद्धेश्यले बन्दिपुर १ मा निर्माण थालेको रक गार्डेन अहिले अलपत्र अवस्थामा छ । सो गार्डेनको पुनः निर्माण गर्न स्थानिय बासिन्दा र स्थानिय सरकारले दबाब दिन आवश्यक देखिएको छ ।

भौतिक,समाजिक तथा आर्थिक पूर्वाधारहरु निर्माण तथा विकास गर्न प्रत्येक शहरको लागि करिब २० वर्षको अनुमान गरिएको छ । यस्तै तवर निर्माण हुदै रोकिदै जाने हो भने नेपाल सरकारले २० वर्षमा पुरा गर्ने भनिएको नयाँ शहर निर्माणको लक्ष्यमा पुग्न सक्ने संभावना देखिदैन ।

निर्माणमा प्रयोग गरिने डन्डी वा अन्य सामाग्री लामो समय हावा र पानीमा एक्सपोजड हुदाँ पुन ल्याब परिक्षण गरेर मात्र निर्माण कार्यलाई अघि बढाउन पर्ने हुन्छ । यदि त्यस्तो नगरे त्यसको स्ट्रेन्थ घट्ने डन्डी भाचिन सक्ने हुन्छ । त्यस्तो भए पिलर लगायतका भौतिक संरचनालाई ट्रिटमेन्ट गर्ने वा नष्ट नै गर्नुपर्ने हुन्छ । शहरी विकास तथा भवन निर्माण विभागले प्रकाशन गरेको ‘स्पेसिफिकेसन अफ बिल्डिङ कन्सर्टक्सन वर्क’ अनुसार पनि सोही कुरा बताएको एक विज्ञले बताए ।तस्विर ःशम्भु श्रेष्ठ