दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

-


     नयाँ लिपि    
     श्रावण २ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । 

स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै  स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए ।

प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य बिमाबाट सेवा लिने नागरिकलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको आरोप लागेको बेला यो अस्पतालले प्राथमिकतामा सेवा दिने अपेक्षा गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संचालित हिमालय आँखा अस्पतालले मात्र सेवा दिँदा महिनौंसम्म कुनुपर्ने अवस्थामा दृष्टिको सेवाले सहज हुने विश्वास व्यक्त गरे ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले आँखा संवेदनशील उपचार भएकोले उपचारलगत्तै सेवाग्राहीलाई लाभ हुने बताए ।

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले नेपाल सरकारले २०७२ साल चैत २५ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको जानकारी दिँदै हाल सरकारी र निजी गरी ७ सय ७६ अस्पतालमा सो सेवा उपलब्ध गराएको बताए । उनका अनुसार वार्षिक ३७ लाखभन्दा बढी नागरिकले स्वास्थ्य बिमाबाट उपचार सेवा लिएको बताए । उनले नेपालमा ८० लाखभन्दा बढी स्वास्थ्य विमित रहेको र यो संख्या दैनिक बढ्दै गएको जनाए ।

अस्पताल अध्यक्ष शिव पोखरेलले हाल बिनाइन्जेक्सन मोतियाबिन्दुको सर्जरी, अत्याधिुनिक फेको प्रविधिबाट सर्जरी, आँखाको रेटिना, जलबिन्दु, बच्चाको आँखाको उपचार, अन्धोपन, अकोलो प्लाष्टिक सेवा लगायत सेवा सुविधा रहेको जनाए । उनले अस्पतालले छिट्टै नै आँखाको सुख्खापनको उपचार, लेजर सर्जरी, आँखाको चस्माको पावर हटाउने (ल्याटिन सर्जरी) समेत सुरु गर्ने जनाउनुभयो । 

झण्डै ४५ करोडको लगानीमा केही वर्षअघि सो अस्पताल संचालनमा आएको थियो  । 

सोमबार उद्द्घाटन भएको कार्यक्रममा २ सय ५० भन्दा बढीले निःशुल्क सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ