अनेसासको केन्द्रीय समितिमा वाग्ले

-


     नयाँ लिपि    
     असार २८ गते २०८१ मा प्रकाशित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी विमला निरौला ५९५ मतसहित उपविजेता भइन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा ९५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठ ४८८ मतसहित उपविजेता भए ।

समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८१८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६२२ मतसहित उपविजेतामा चित्त बुझाउन परेको छ ।
एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७४९ मतले निर्वाचित हुँदा दिनेशराज ज्ञवाली ६७५ मतसहित उपविजेता भए ।

सर्वाधिक चासोका साथ हेरिने महासचिवमा राजु सिटौला ८५५ मतसहित विजेता हुँदा कृष्ण गिरीले ५८४ मत प्राप्त गरेका छन् ।

७२ घण्टासम्म चलेको अनलाइन मतदानमा २८१९ जना आजीवन सदस्यमध्ये १४७३ मत अर्थात् कुल ५२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गुणराज लुइटेलले जानकारी दिए । समितिले यस पटकको निर्वाचनमा नो भोटको समेत व्यवस्था गरेको अधिकृत लुइटेल थप जानकारी दिए ।

समितिको युरोप उपाध्यक्षमा डिल्लीराम अम्गाई, ओशिवाना उपाध्यक्षमा हरिप्रसाद अधिकारी, अमेरिका उपाध्यक्षमा गणेश खड्का, जापान सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यमा पुष्पा खनाल, सुमन वर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा, तारा उप्रेती निर्विरोध निर्वाचित भइसकेको निर्वाचत अधिकृत डा. चूडामणि खनालले जानकारी दिए ।

निर्वाचनमा अध्यक्षमा १९, वरिष्ठ उपाध्यक्षमा ३१, अमेरिका उपाध्यक्षमा ३३, एसिया उपाध्यक्षमा ३४ नो भोट परेको निर्वाचन अधिकृत डा कविता घिमिरेले जानकारी दिइन् ।

यसैगरी, नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै आफूले अनेसासको गौरव र गरिमा बढाउनका लागि गरेका सम्पूर्ण योजनाको सफलता प्राप्तिका लागि सबैसँग हातेमालो गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।