प्रदेशस्तरीय टेनिस खेल पुरा, फाइनल खेल वर्षाले प्रभावित

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ । 

यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ । 

प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापा पुगेका थिए । आयोजकले दुबै खेलाडीहरुलाई बिजेता मान्दै पुरस्कृत गरेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले जनाएका छन् । उनले भने–“हामी बिहान ७ बजेबाट नै तयार भएर बसेका थियौं । तर वर्षाले खेल प्रभावित हुन पुग्यो । अन्ततः हामीले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार दुबैलाई बिजेता मान्दै पुरस्कृत गरेका हौं ।”

बिजेता बनेका दुबै खेलाडी पुरस्कार वापतको रकम जनही रु २२ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

त्यस्तै पुरुष सिंगल्सतर्फ शास्वत बज्रचार्य र अनिल साई तेस्रो भए । उनीहरुले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । 

यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । 

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष द्वय लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिब एवं टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रम गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।