तायाःमचा नाच प्रतियोगिताको जिम्मा नयाँबजारलाई

- पुरस्कार बापतको लाखौ रकम श्रेष्ठ परिवारले दिने

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


पोखरा । तायाःमचा नृत्य प्रतियोगिता गर्ने जिम्मा यस पटक नयाँबजारलाई पाएकाो छ । उक्त तायाःमचा नृत्य प्रतियोगिताको विजेता हुने सबै समुहलाई नगद पुरस्कार बापतको रकम तेर्सापट्टी निवासी स्व.हेमप्रसाद श्रेष्ठ परिवारले दिने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो ।

नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको हो।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गर्ने प्रचलन छ । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

‘संस्कृति परम्पराको प्रवद्र्धन: पहिचानको संरक्षण भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको तयारी शुरु भएको आयोजक नयाबजार सांस्कृतिक समितिले जनाएको छ । प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले प्रतियोगिताका लागि प्रायोजक खोज्नेदेखि कचाः खलहरुलाई पत्राचार गर्नेलगायतका कार्यहरु भइरहेको बताए । ‘

‘यस वर्ष तयारी चाँडै शुरु गरेका छौं । कार्यक्रमलाई भव्य बनाउन सबै एकजुट भएर लागेका छौं’–उनले भने । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर ९ को विशेष सहयोग रहने उनले जानकारी दिए । प्रतियोगितामा यस वर्ष ३६ टिम सहभागी हुने अनुमान गरिएको मूल संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे,पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कला लगायतले बोलेका थिए ।

प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।