रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

-


     नयाँ लिपि    
     असार १८ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो ।

“गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो ।

मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको जानकारी गराउनुभयो । सहुलियत ब्याजदरमा बैंकबाट ऋणको व्यवस्था मिलाइएको भनाई उहाँको छ ।

प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको छ ।

सानै भए पनि आफ्नै व्यवसायले खुशी मिल्ने बताउँदै निरन्तरताले नै सफलता मिल्ने भनाई उहाँको छ ।

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पीरमर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासंघमा २५ करोड सम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मेला संयोजक भागिरथ शर्माले गर्नुभएको थियो । मेला पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चलेको थियो ।