क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता ः मन्त्री थापा

-


     नयाँ लिपि    
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् ।
“रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उनले भने, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।”
११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए । क्यान्सर, मुटुरोग जस्ता बिरामीका लागि उपचारको राम्रो सुविधा नहुँदा बाहिर जानुपर्ने अवस्था सिर्जना भएको र प्रदेश सरकार यसको व्यवस्थापनमा लागिरहेको उनले बताए । जग्गा प्राप्तिको समस्याका कारण उक्त रोग सम्बन्धि विशिष्ट श्रेणाीको अस्पताल बनाउन नसकिएको र उच्चस्तरिय समिति बनाई जग्गाको खोजी कार्य भइरहेको भनाई उनको छ ।
मन्त्री थापाले क्यान्सर बिरामीलाई संघ सरकारबाट दुई लाख र प्रदेश सरकारले एक लाख उपलब्ध गराउँदै आएको बताए । जसबाट बिरामीलाई उपचार खर्च गर्न सहज भएको अभिव्यक्ति उनको छ ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जनतालाई स्वस्थ बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । रोग लागेर उपचारमा सहयोग गर्नुभन्दा रोग लाग्नै नदिने कार्यक्रम ल्याउन उनको आग्रह छ । नेपाल क्यान्सर रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको परिक्षण समेत गरिएको छ । नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शक्ति प्रधानाङ्ग र संचालन महासचिव किरण बिजुक्छेले गरेकी थिइन् ।