नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट छैन : उप महासचिव प्रदीप ज्ञवाली

-


     नयाँ लिपि    
     असार १५ गते २०८१ मा प्रकाशित


पोखरा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट नभएको बताउनुभएको छ । शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले अबको निर्वाचन मार्फत एमालेले एकल बहुमतका साथ आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्ने बताउनुभयो ।

‘अब गल्ती दोहोर्‍याउने छुट छैन । अब हामी एक्लै कसैको पनि बैसाखी नटेकिकन मुलुकको नेतृत्व गर्न चाहन्छौं । समेट्ने कुरा सबैको होला, हामी अरुलाई पनि समेटौला, तर एमाले एक्लै आफ्नो खुट्टामा उभिनसक्ने बन्नुपर्छ’ उहाँले भन्नुभयो ।

एमालेले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्ने संकल्प गरेकोले जननेता मदन कुमार भण्डारीलाई सम्झदै त्यो संकल्प पुरा गर्नका निम्ती सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘एमाले आफ्नै असमझदारीका कारण आफ्नै खुट्टामा अल्झिएर धेरैं ठाउँमा लडेको छ, यो स्थितिलाई अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

विगतमा पार्टीमा चुनौतीको सामना गर्न खोज्नेको जमात बढी हुने गरेपनि पछिल्लो समय आफूले टिकट पाए ठीक नपाए असहयोग गर्ने, अन्तरघात गर्ने विपक्षीहरुसँग मिल्ने जस्ता खालका कामहरु हुने प्रवृत्ति देखा परेको उपमहासचिव ज्ञवालीको गुनासो थियो ।

पछिल्लो ३ वर्ष एमाले विरुद्ध घेरावन्दी भएपनि गएको फागुन २१ गतेदेखि त्यसलाई तोडेर एमाले राजनीतिको केन्द्रविन्दुमा आइपुगेको भन्दे अब आफ्नै खुट्टामा एकल बहुमतका साथ उभिने परिस्थिति निमार्णमा जुट्नुपर्ने खुलाउनुभयो । चुम्बक बलियो भयो भने फलामका कणहरु आफै खोज्दै–खोज्दै आइपुग्ने भन्दै उहाँले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको चुम्बकको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

‘सहकार्य विचार मिल्दा गरिएला । तर, भोली नै पार्टी एकता हुन्छकी, भोलीनै वामपन्थी एकता हुन्छ की, भोली नै हिजो जस्तो नेकपा बन्छकी, यो कुनैपनि अन्यौलमा नपरीकन आफ्नो पार्टीलाई बलियो बनाउ’ उहाँको आग्रह थियो ।
वर्तमान समीकरण भत्काउन अनेक खालका प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने उहाँको ठोकुवा थियो ।
२०८४ को निर्वाचनसम्म यहीं रुपमा रहेर संगठन विस्तार गर्दै राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको रुपमा अगाडि बढ्ने गरी नेकपा एमालेले संकल्प गरेको उहाँले खुलाउनुभयो ।

‘त्यो निर्णायक शक्ति बन्ने भनेको खाली बहुमत पाउन कसैलाई प्रधानमन्त्री, कसैलाई मन्त्री बनाउन होइन, देश बदल्नका लागि हो । समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ती हो’ उहाँले प्रष्ट्याउनुभयो ।

विचार गोष्ठीमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीका विचारको अध्ययन गरेर सोही अनुसार आफ्नो कार्यशैलीमा सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । सबै एकताको सुत्रमा अगाडि बढेमात्र पार्टी लिएको लक्ष्य पुरा हुने उहाँको भनाई थियो । त्यसको लागि जिम्मेवारीमा रहेको व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
‘सिद्धान्त, संगठन, सर्घष र शैलीमा एकरुपता कायम गर्दै पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाउदै जानुपर्नेछ’ उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नको लागि स्थानीय तहदेखि प्रदेश र संघमा बहुमत आवश्यक पर्ने भन्दै त्यसको लागि सबैजना एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
समाजवाद उन्मुख संविधान पूर्ण रुपमा कार्यान्यवयन गर्नको लागि समेत एमालेको एकल बहुमत आवश्यक पर्ने उहाँको दावी थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले नियम कानूनको अधिनमा रहेर तथा नियमित पार्टीको सम्पर्कमा रहेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

‘म त जनप्रतिनिधि भए पाँच वर्षलाई ठीक छ, मैले किन पार्टीलाई वास्ता गर्नुप¥यो भन्न थालियो भने धागो चुँडिएको चङ्गा जस्तो हुन्छ, पार्टीसँग आवश्यकताको आधारमा नियमित रुपमा सम्पर्कमा रहनुपर्छ’ उहाँले भन्नुभयो ।

जनप्रतिनिधि शासक नभई सेवक भएकोले जनताप्रति उत्तरदायी बन्नुपर्ने स्थायी कमिटी सदस्य अधिकारीले बताउनुभयो । ‘जनतालाई निरास बनाउने अधिकार जनप्रतिनिधिलाई छैन, मतदातालाई उत्साह, उर्जा थप्नुप¥यो’ अधिकारीले आग्रह गर्नुभयो । संगठनमा प्रयोग गरिहेको लोकतान्त्रीकरणमा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको समेत उहाँको भनाई थियो ।

नेकपा (एमाले)पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका कमिटी इन्चार्ज कृष्ण थापा, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलिप न्यौपाने, वर्तमान उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना र सचिव सुशील बस्नेतले बोल्नुभएको थियो ।