जनजाति पत्रकारको लागि पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

-


     नयाँ लिपि    
     असार १५ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए । पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’ पत्रकारिता क्षेत्रको हितका लागि यस्ता कार्यक्रमको आयोजना गर्नु अझै आवश्यक रहकोमा उनले जोड दिए ।

कार्यक्रममा फोनिज गण्डकीकी उपाध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायका व्यक्तिको पत्रकारिताको क्षेत्रमा संख्या बढाउनुुपर्नेमा जोड दिइन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या धेरै भए पनि उनीहरुलाई यही पेसामा टिकाइराख्नु चुनौती बन्दै गएको उनले बताइन् ।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षता भएको कार्यक्रम महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले आमसञ्चार र समावेशी पत्रकारिताका विषयमा सहजीकरण गरेका थिए ।