पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

-


     नयाँ लिपि    
     असार ९ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ ।

पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो ।

‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटन मार्फत् समृद्धिको स्पष्ट खाका आउने विश्वास छ ।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरुबीचको यो जमघले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा पनि उहाँले गर्नुभयो ।

‘विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरुको तपोभूमि हो ।’ उहाँले भन्नुभयो – ‘मन्दिरै मन्दिरको शहर काठमाण्डौमा हिन्दुहरुको प्रमुख धाम पशुपतिनाथ देखि बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ । नेपालका हरेक स्थानमा पर्यटक लोभ्याउने गन्तव्यहरु छन् । यसको प्रचार प्रसारको आवश्यकता रहेको छ ।’

बुद्धको विचार, मार्गदर्शन एवम् बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उहाँले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्न सकिने बताउनुभयो ।

नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्वपूर्ण रहने बताउनुभयो ।

सम्मेलनमा छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान स्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो