आर्चरीमा कास्कीको सुखद सुरुवात

-


     नयाँ लिपि    
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्‍याकिङ राउण्डमा कास्कीले सुखद सुरुवात गरेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो ।

पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थानमा रहन सफल भए । ६०३ अंकका साथ कास्कीका सुमन गुरुङ दोस्रो स्थानमा रहे । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा आए ।

यसै गरी महिला रिकर्बतर्फ समेत कास्कीका तीन खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेका छन् । कास्कीकी अनुष्का शेरचनले ६१३ अंकका साथ पहिलो स्थान बनाएकी छन् । त्यस्तै रोजिना थापा मगर ५८५ अंकका साथ दोस्रो र कृषा गुरुङ ५७२ अंकका साथ तेस्रो स्थानमा रहेकी छन् ।

यस्तै प्रतियोगिता अन्तर्गत स्टाण्डर्ड पुरुषतर्फ कास्कीका तीन खेलाडी पहिलो, दोस्रो र तेस्रो स्थानमा कायम रहन सफल भएका छन् । कास्कीका गणेश तिलिजा ३२७ अंकका साथ पहिलो, नगेन्द्र थकाली ३२४ अंकका साथ दोस्रो र होम पगेनी ३२२ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की गरी ६ जिल्लाले सहभागिता जनाएका प्रतियोगिता भोलि (शनिबार) ८ गते सम्म सञ्चालन हुने कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले बताए ।