‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

-


     सुरज श्रेष्ठ    
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय ‘हेमजा भेट्रान्स कप’ २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो ।

खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए।

पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा लागेर फर्कदा बराबरी गर्न बाट चुक्यो । त्यस्को लगतै सन्दिप गुरुङले गरेको प्रहार क्रसबारमा लाग्दा १२ अभागी सावित भयो । पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अन्तत पोखरा १२ उपाधि सुम्पन बाध्य भयो।

पोखरा १२ का डिफेन्डरले अपसाइडको अपिल गर्दे छाडिदिएको बललाई १३ का राजकुमार गुरुङले बललाई जाली चुमाईदियो । उनले खेलको ६६ औं व्याक्तिगत दोस्रो गोल गरे ।

विजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पोखरा १२ का नितिश श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे ।

पोखरा १३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिल्डर, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित भए । विधागत पुरस्कार प्राप्त गर्ने खेलाडीले समान दुई दुई हजार नगद साथमा ट्रफी प्राप्त गरे ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि संचालन भएको अन्तर वडा स्तरीय ‘हेमजा भेट्रान्स कप’ २०८१ प्रतियोगितामा पोखरा महानगरपालिका अन्र्तगतका १३ वटा वडाले सहभागिता जनाएको थियो ।