गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुर जित नजिक

-


     नयाँ लिपि    
     असार ५ गते २०८१ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर जित नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १२५ रनले जितेको हो । पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भयो

नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको छ भने गोरखा अंक विहिन छ ।

दुई ओभर घटाइएको मंगलबारको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले गोरखा विरुद्ध ६ विकेट गुमाउँदै १८ ओभरमा १७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले विस्फोटक पारीको सुरुवात गर्दै ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए भने सुदिप अर्यालले १५ बलमा ३ छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दिपक डुम्रेले १० र कमल परियारले १२ रन टिमका लागि जोड्दा नवलपुरले अतिरिक्त १७ रन समेत पाएको थियो ।

गोरखाका लागि बलर मेहुल श्रेष्ठले ४ ओभरमा ५३ रन दिएर ३ बिजेट लिए भने प्रशिद्ध बज्रचार्यले २ विकेट हात पार्दा सुनिल गुरुङले १ विकेट लिए ।

यता जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको गोरखा भने १५ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पंकज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

गोरखा लाई सस्तैमा समेट्न पवन सापकोटाले २ दशमलब ३ ओभरको स्पेलमा १० रन दिएर ३ विकेट लिए भने कमल परियारले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै स्विकार श्रेष्ठले २ र सुदिप अर्यालले १ विकेट हात पारे । खेलमा प्रमिश अर्याल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

बुधबारको खेलले नै घरेलु टोली कास्की संग उपाधि भिडन्तमा पुग्नेको टुङ्गो लाग्ने छ । समुह ‘बी’को पहिलो खेल नवलपुर र स्याङजा फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि खेल्नेछन् ।

प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।