पोखरा २६ ले योजना छनौटको जिम्मा महिलालाई दियो

-


     नयाँ लिपि    
     असार ४ गते २०८१ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ ।

वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए ।

वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै, अध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहको तर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिईएको बताए ।

योजना छनौटका लागि वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघसंस्थाका प्रतिनिधि र राजनितिक दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु आ.ब मा गरेका कामहरुको प्रगतीका बारेमा वडा भ्रमण गराएको थियो ।
वडाको स्थलगत भ्रमण पछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्वोधन गर्दै, वडाध्यक्ष थापाले भौतिक पूर्वाधार तर्फ देखिने गरी विकास भएको उल्लेख गर्दै, अव मानविय संसाधनको विकासमा जोड दिईने उल्लेख गरे ।

सामाजिक संजालमा सक्रिय भैरहँदा वडा भित्र भएका विकास निर्माण र सकरात्मक कुराहरुको प्रचार गर्न समेत आग्रह गरे ।
विकास निर्माणका मुद्दामा सवै राजनितिक दल एकठाउँमा हुनु पर्ने उल्लेख गर्दै, अध्यक्ष थापाले वडामा राम्रा काम भएको देख्न नसक्ने केही तत्वले पूर्वाग्रह राखेको बताए । हामीले राम्रो काम गर्दा केहीको निद हराम भएको छ, अध्यक्ष थापाले भने“हामीले गरेका कामले केहीको राजनिति सकिने चिन्ताले गलत अफवाह फैलाएका छन् ।”

कार्यक्रममा पूर्वन्यायाधिस बासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमूना काम गरेको बताए । वडालाई युवाले नेतृत्व गर्दा परिणाम स्मार्ट नतिजा आउने उल्लेख गर्दै, जनप्रशासन पनि स्मार्ट बनाउन सुझाव दिए ।

कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय व्यक्तित्व हरिप्रसाद अधिकारी महिलाहरुको तर्फबाट अम्रिता बराल, युवाका तर्फबाट आर्दश मोहन भट्टराई लगाएतले योजना छनौट विधि महानगरमै नमूना भएको दावी गरे ।