यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न

- गण्डकी सेमिफाइनलमा प्रबेश

-


     नयाँ लिपि    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो ।

छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेश बिच खेल हुने भएको हो । उक्त खेल पुन समाज पोखराको बास्केटवल कोर्टमा हुने भएको छ ।

त्यसै गरी छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेश बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेल सहित फाइनल खेल पोखरा रंगशालाको बास्केटवल कोर्टमा हुने भएको बास्केटवल संघ गण्डकीका महासचिव बिष्णु गुरुङले बताउनु भयो ।

छात्र तर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो ।

त्यसै गरी छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो ।

उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनु भयो ।