रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उद्घाटन

-


     नयाँ लिपि    
     श्रावण ९ गते २०७९ मा प्रकाशित


पोखरा । सेतीगंगा टोल विकास संस्था, सौभाग्य महिला समुह तथा नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उदघाटन गरिएको छ ।

आईतबार आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले फल्चाको उद्घाटन गरेका हुन् ।

रामघाट क्षेत्रमा हरिबोधनी एकादशीका दिन फूल तार्न जाने भक्तजनहरुबाट संकलित रकम तथा विभिन्न सहयोगी र दाताहरुबाट प्राप्त तीन लाख रुपैयको लागतमा फल्चा निर्माण गरिएको हो । मलामी गई फर्किएकाहरुको विश्रामकालागि फल्चा अर्थात पाटीको निर्माण गरिएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै पोखरा महानगरापालिका वडा नं ९ का वडाध्यक्ष मर्सानीले रामघाट क्षेत्रलाई सुन्दर बनाउन र मृत्यू संस्कारका लागि रामघाट आउनेलाई स्वर्गको अनुभुति दिलाउन फल्चाको निर्माणसंगै रामघाट क्षेत्रको सौन्दर्यकरण अभियान सुरु गरिएको जानकारी दिए ।

रातो कलम समाएर घुम्ने कुर्चीमा बस्न मात्रै वडाध्यक्षमा निर्वाचित नभएको प्रसंग उल्लेख गर्दै वडाध्यक्ष मर्सानीले वडाबासीको घरदैलोमा पुगेर उनीहरुको सुखदुखमा साक्षात्कार गर्न आफु निरन्तर सक्रिय रहेको जानकारी दिए ।

रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले रामघाट क्षेत्रलाई सुन्दर र सधै हराभरा बनाउने उद्देश्यले फुल रोप्ने कामका साथै सरसफाई अभियान संचालन गरिएको बताए । जीवनको अन्तिम सत्य मृत्यु भएको र मृत्यु पश्चात पिडामा रहेका आफन्तहरुको मन शान्त पार्न पनि स्वर्गद्धारको परिकल्पना सहित फुल रोप्ने र सरसफाई अभियान संचालन गरिएको बताए ।

समितिका उपाध्यक्ष उत्तम जोशीले आफन्त विछोडिएको पिडा र दुखमा रहेकाहरुको मनमा शान्ति दिलाउन रामघाट धार्मिक क्षेत्र सौन्दर्यकरण कार्यक्रमको अवधारणा ल्याइएको जानकारी दिए ।
सौन्दर्यकरणकालागि एक सय वटा गमलामा फुल सारिएको र विश्रामकालागि फल्चा निर्माण गरिएको उपाध्यक्ष जोशीले बताए ।