परापूर्वकालमा हिमालय पर्वत सृङ्खला आसपास धर्मध्वज नामका राजा थिए । उनको नाम जस्तै काम पनि धार्मिक प्रकृतिको थियो । राज्यमा कुनै किसिमको रोग, भोक, शोक थिएन । देशवासी सुखी र समृद्ध थिए । उनकी असल स्वाभावकी एक सुन्दर कन्या थिइन्, जसको नाम तुलसी थियो । तुलसी राजकुमारी भइकन पनि सादा जीवन रुचाउँथिन् । सबैको भलो गर्थिन्, कुभलो सोच्नै जानेकी थिइनन् । दीन, दुःखीको उपकार, सँगीसाथीसँग मेलमिलाप, मातापिताको आज्ञाकारी उनको विशेषता थियो ।
तुलसी पढाइमा पनि अब्बल थिइन् । त्यतिबेला अहिलेको जस्तो स्कुल, क्याम्पस थिएन । न सर, मिसहरू नै हुन्थे । पढ्न गुरुकुल हुन्थे, पढाउने काम गुरुहरूले गर्थे । उनले पनि गुरुकुलमै बसेर शिक्षा हासिल गरेकी थिइन् ।
समय बित्दै गयो । उनी विवाहयोग्य भइन् । उनी अनुकुलको वरको खोजी हुन थाल्यो । खोज्दै जाँदा एक राजकुमार फेला परे, जसको नाम शङ्खचुड थियो । विद्या, बुद्धि, शील, स्वभाव राजकुमारीको जस्तै देखिएपछि तुलसीको विवाह तिनकै साथमा गरिदिए बाबु धर्मध्वजले ।
तुलसी दम्पती साह्रै गुणी र विवेकी थिए । संस्कारी र उपकारी पनि त्यत्तिकै । आपसमा मिलेर बस्थे, एक अर्कोलार्ई सघाउँथे, एकअर्कोको भावनाको कदर गर्थे । दीन दुःखीको सेवा उनीहरूको मूलभूत विशेषता थियो । सबैलाई समान ठान्थे, समान व्यवहार गर्थे । कसैलाई पनि ढाँटन र छल्न जानेकै थिएनन् । पाहुना, पासा, योगी, सन्यासीको सम्मान गर्थे । अरुको जस्तो व्यवहार आफूलाई मन पर्दैन थियो त्यस्तो व्यवहार अरुलाई माथि पनि गर्दैन थिए । पशुपक्षी कीटपतङलाई समेत आफैँ समान ठान्थे र त्यस्तै व्यवहार गर्थे ।
घरमा सुख थियो, शान्ति थियो, आनन्द थियो, जसले गर्दा स्वर्गभन्दा पनि उत्तम देखिन थालेको थियो उनीहरूको घर । आखिर स्वर्ग भन्नु नै के हो र । जुन घरमा श्रीमान् श्रीमतीबीच मेलमिलाप हुन्छ, सद्भाव हुन्छ, सहकार्य हुन्छ त्यो घर स्वतः स्वर्ग बन्छ, बनिरहेको हुन्छ । बिस्तारै तुलसी दम्पतीको गुण प्रजाजनहरूमा समेत सर्दै गएकाले पूरै समाज स्वर्गभन्दा उन्नत देखिन थाल्यो । यो कुरा स्वर्गका राजा इन्द्रलाई मन परेन । उनलाई समयमै उपचार नखोजे स्वर्गकै महत्व घट्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो र रोकथामका लागि शिवको शरणमा पुगे ।
शिवजीलाई इन्द्रको स्वार्थी कुरा मन परेन । एक त उनी आफैँ परोपकारी थिए । लोकहितका लागि विष पान गर्न पनि पछि पर्दैन थे । अर्को कुरा तुलसी दम्पतीले कसैको केही बिगारेका थिएनन् । आफ्नै कर्मले ख्याति पाएका थिए, लोक मर्यादा बढाएका थिए । तथापि शरणमा आएकाले इन्द्रलाई सिधै नकारेर पठाउन सकिने अवस्था पनि थिएन । शरणमा आएकालाई बेवास्ता गर्नु घोर पाप मानिन्थ्यो त्यतिबेला । त्यसैले बहाना बनाउँदै भने–
‘देवराज ! तपाईँको भनाइ अनुसार मैले शङ्खचुडलाई दण्डित गर्नुपर्ने देखियो तर म यसमा असमर्थ छु । किनकि उनी विष्णुका भक्त हुन् । विष्णुका भक्तलार्ई मैले दण्डित गर्न मिल्दैन । बरु हिड्नुस् जाउँ उनै विष्णुको शरणमा तैपनि कुनै उपाय निस्किहाल्छ कि ।’
इन्द्रलाई शिवको कुरा ठीकै लाग्यो । त्यसपछि उनीहरूले वैकुण्ठबासी विष्णु समक्ष गएर आफ्ना समस्या बताए । उनीहरूको सुनिसकेपछि विष्णुले लामो सास फेर्दै भने–
‘तुलसी र शङ्खचुड दुवै मेरा भक्त हुन् । राधाजीका श्रापका कारण गोलोकबाट केही समयका लागि पृथिवी लोकमा आएका हुन् । लाग्दै सायद उनीहरूको आफ्नै लोक फर्कने समय आएको हुनुपर्छ तर त्यति उनीहरूलाई फर्काउन त्यति सजिलो भने छैन । उनीहरू दुवै आ–आफ्ना सतमा छन्, जसले उनीहरू यति शक्तिशाली बनेका छन् कि एउटाको सत्य नडगाई केही गर्न सकिन्न । त्यसैले शिवजीले अहिले नै गएर शङ्खचुडलाई युद्धका निम्ति ललकारुन् । मैले गएर तुलसीको सत्य डगाउने काम गर्नेछु । यसबाट शङ्खचुड दम्पती पनि फर्कन छन् र इन्द्रको समस्या टर्नेछ ।’
विष्णुको सल्लाह अनुसार शिव गएर शङ्खचुडसित युद्ध गर्न लागे । विष्णु शङ्खचुडको भेषमा उनको दरवारमा गएर तुलसीको सत्य डगाउने काम गरे । जब शिवको हातबाट शङ्खचुडको मृत्यु भएको सङ्केत पाए त्यसपछि विष्णुले आफ्नै रूपमा प्रकट भएर तुलसीलाई सम्झाउँदै भन्न लागे–
‘देवी तिम्रो पतिले हिजै शिवजीको हातबाट वीर गति प्राप्त गरिसकेका छन् । तिमीहरूको गोलोक फर्कने बेला भएकाले यस्तो नाटक गरेको हुँ । जो भो, भो चिन्ता नगर । विधिको विधान नै यस्तै थियो भने कसको के लाग्छ र । विधिविधान ठानी आफ्नो चित्त बुझाउ र गोलोक फर्कने बाटोतिर लाग ।’
विष्णुको कुरा सुनेर तुलसी छाँगाबाट खसे जस्ती भइन् । टेकेको जमिन भासिँदै गएको जस्तो लाग्यो । उनले आफूलाई थाम्न सकिनन् र आँखाबाट आँसु चुहाउँदै कम्पित स्वरमा भनिन्– ‘हे हरि ! हामीले कसको के बिगारेका थियौँ र यति ठूलो सजाय दियौ । तिमीलाई दयाका खानी मानेका थियौँ तर तिम्रो मन त ढुङ्गाभन्दा पनि कठोर रहेछ । त्यसैले श्राप दिन्छु । आजैका दिनदेखि तिमीले अनन्तकालसम्म ढुङ्गा बनेर पृथिवी लोकमा बस्नु पर्नेछ ।’
विष्णुलाई श्राप दिएर तुलसी योग बलले प्राण त्यगी गोलोकतिर लागिन् । उनको शरीर पवित्र नदी बनेर बग्न थाल्यो । धार्मिक विश्वासअनुसार हाल पश्चिम नेपालमा बग्ने काली गण्डकीलाई उनकै शरीर मान्ने गरिएको छ । उनको कपाल चाहिँ तुलसी बनेर उम्रियो, जसलाई महौषधीको रूपमा लिने गरिरहेको । विष्णुलार्ई तुलसीको श्राप लाग्यो । उनी सोही गङ्गाको किनारमा शिला बनेर प्रायश्चित गर्न लागे, जसले हाल शालिग्रामको नामले ख्याति पाएका छन् ।